सामाजिक विकास कार्यालयको परिचय

  • सामान्य परिचय :

प्रदेश सरकारको शिक्षा तथा मानव संशाधन, स्वास्थ्य तथा जनसंख्या, महिला, वालबालिका तथा समाज कल्याण, श्रम तथा रोजगार, युवा तथा खेलकुद र भाषा, धर्म तथा संस्कृति सम्बन्धी कार्यहरू सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र भित्र परेका विषयहरू हुन।सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्रमा रहेका उपर्युक्त कार्यहरूमध्ये स्वास्थ्य तथा जनसख्या सम्बन्धी कार्यहरू सम्पादन गर्न जिल्लामा स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र जिल्ला आयुर्वेद कार्यालय सञ्चालनमा रहेको अवस्थामा बाँकी कार्यहरू शिक्षा तथा मानव संशाधन, महिला, बालवालिका तथा समाज कल्याण, श्रम तथा रोजगार, युवा तथा खेलकुद र भाषा, धर्म तथा संस्कृति सम्बन्धी कार्यहरू गर्न प्रदेश सरकारको निर्णय बमोजिम वि.स. २०७७ सालमा ९ वटै जिल्लामा सामाजिक विकास कार्यालयहरू स्थापना गरिएका हुन्।

सामाजिक विकास कार्यालय अछाम मंगलसेन नगरपालिका वडा नं. ५ स्थित शिक्षा विकास तथा समन्वय ईकाइको भवनमा मिति २०७७ साल मंसीर ७ गतेदेखि स्थापना गरिएको हो । हाल यो कार्यालय भाडाको घरमा सञ्चालन भैरहेको छ ।यस कार्यालयसँग ३ वटा सरकारी नम्बर प्लेटका मोटरसाइकलहरु रहेका छन् ।

दूरदृष्टि : समृद्ध समाज, सुखी नागरिक

लक्ष्य : समानतामा आधारित न्यायपूर्ण समाजको स्थापना गर्नु

  • सामाजिक विकास कार्यालयको कार्यविवरण
  • उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सामुदायिक क्याम्पसहरुको पूर्वाधार, सुचना तथा संचार प्रविधि, पुस्तकालय, फर्निचर आदिमा सहयोग पुर्याउने कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने,
  • विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि प्रदेश सरकारद्वारा तोकिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने,
  • महिला हकहित, महिला सशक्तिकरण र लैङ्गिक समानता सम्बन्धिका कार्यक्रम कार्यान्वयन,
  • लैङ्गिक हिंसा, मानव बेचविखन तथा ‌ओसारपसार बिरुद्दको सचेतीकरण तथा अन्य कार्यक्रम,
  • बालबालिकाको हकहित संरक्षण सम्बन्धिका कार्यक्रमहरु कार्यन्वयन,
  • बालमैत्री शासकीय प्रबन्ध र सेवा प्रवाह, बालउद्धार कोष, वालसुधार तथा पुनर्स्थापना कार्यक्रमहरुको कार्यान्वयन,
  • ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण र सहयोग सम्बन्धी कार्यक्रमहरु,
  • युवाहरुको रोजगारी र स्वरोजगारीका लागि प्रादेशिक नीति अनुरुपका कार्यक्रम तथा युवा वैज्ञानिक प्रोत्साहनका कार्यक्रमहरु कार्यान्वयन,
  • खेलकुद सम्बन्धी प्रादेशिक नीतिको कार्यान्वयनका लागि खेलकुद पुर्वाधारको निर्माणमा सहयोग तथा खेलकुदका कार्यक्रमहरुको कार्यान्वयन,
  • लोपोन्मुख, सिमान्तकृत, गरिव, ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरुको कार्यान्वयन,
  • रोजगारी प्रवर्द्धन सम्बन्धी कार्यक्रम तथा रोजगारी र स्वरोजगारका लागि तालिम सञ्चालन,
  • श्रमिक एवम् श्रमिकको सामाजिक सुरक्षा, श्रमशक्ति, श्रम बजारबीचको समन्वय र सहजीकरण,
  • धर्म, परम्परा र गुठी अन्तर्गत चालिआएका विभिन्न जात्रा, पर्वहरुको संचालन र व्यवस्थापन,
  • जिल्ला स्तरमा संग्रहालयको स्थापना, संचालन तथा व्यवस्थापन,
  • जिल्ला भित्र रहेका प्रादेशिक स्तरका पुरातात्विक महत्वका स्थल, ऐतिहासिक र धार्मिक, सांस्कृतिक सम्पदा, प्राचीन स्मारक, संग्रहालय, सांस्कृतिक धरोहरको संरक्षण तथा सम्भार सम्बन्धी कार्य,
  • ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं कला र वास्तुकलात्मक दृष्टिकोणले महत्व बोकेका जिल्ला भित्र रहेका प्रादेशिक स्तरका दरबारहरुको संरक्षण, सम्भार, तथा व्यवस्थापन।

कार्यालयबाट सम्पादन हुने प्रमुख क्रियाकलापहरू

(क) विद्यालयको भौतिक संरचना निर्माण तथा मर्मत सम्भार

यस कार्यालयले आफ्नो कार्य विवरण अनुसार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास निर्देशनालयबाट प्राप्त वार्षिक बजेट तथा कार्यक्रम अनुसार विद्यालयको भौतिक संरचना निर्माण तथा मर्मत सम्भारको कार्य गर्दछ।

(ख) समुदायस्तरमा खेलमैदान निर्माण

यस कार्यालयले आफ्नो कार्य विवरण अनुसार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास निर्देशनालयबाट प्राप्त वार्षिक बजेट तथा कार्यक्रम अनुसार समुदायमा खेलमैदान निर्माणको कार्य गर्दछ।

(ग) महिला, बालवालिका तथा ज्येष्ठ नागरिक

उद्यमशिलता र सशक्तिकरणको माध्यमबाट महिलाहरूको आर्थिक, सामाजिक रूपान्तरण र क्षमता अभिवृद्धि गरी जीवनयापनमा सहजता ल्याउने, समाजमा व्याप्त कुरीतिको अन्त्य गर्ने, हिंसाबाट पिडित महिला तथा बालबालिकाको उद्धार, संरक्षण तथा सामाजिक पुनर्स्थापनामा सहयोग गर्ने र महिलाहरूको सरकारी सेवामा सहभागीता बढाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने गर्दछ।

"सानै छु म बढ्न देऊ, बालविबाह होइन पढ्न देऊ" अभियानका साथ बालविबाह रहित समाज निर्माणका लागि बालविबाह विरुद्ध सचेतना अभिवृद्धि गर्ने, बालविबाह रोकथाम तथा अन्त्य गर्न सघाउ पुर्याउने कार्यक्रम सञ्चालन गर्ने र बालिका माथि हुने हिंसा अन्त्यका लागि क्षमता विकासका कार्यहरू गर्ने गर्दछ।साथै आमाबावु बिहिन बालवालिकाको जीवनयापनमा सहयोग गर्ने र त्यस्ता बालवालिकाको शिक्षा पाउने नैंसर्गिक अधिकारको सुनिश्चित गर्न आवासिय विद्यालय सञ्चालनमा सहयोग गर्ने कार्य समेत गर्दछ।

समाजमा रहेका ज्येष्ठ नागरिकहरूलाई मर्यादित जीवनयापनका लागि सहयोग गर्ने कार्य समेत गर्दछ।